दार्चुला । कोरोनाको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो ।
बुधवार एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग अलग बार तोकेर सेवा दिने जनाएको छ । कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै सेवाग्राहीको भिडभाड कम गरी संक्रमण नियन्त्रण गर्न प्रशासनले यस्तो योजना बनाएको हो ।
कोरोना महामारीको जोखिमबाट बच्न आइतवरदेखि लागू हुने गरी बार अनुसार सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । कार्यालयले नागरिकता, नाबालक परिचयपत्र, नागरिकता प्रतिलिपि, राहदानी, हातहतियार दर्ता नवीकरण, सङ्घसंस्था दर्ता नवीकरण, पत्रपत्रिका दर्ता सम्बन्धी कार्यका लागि बार अनुसार सेवा दिनेछ ।
कार्यालयले आइतबार र सोमवारमा अपि हिमाल मार्मा र नौगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सूचना मार्फत जनाएको छ । यस्तै मङ्गलवार र बुधवारमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका सेवाग्राहीलाई र बिहीबार र शुक्रवार महाकाली नगरपालिका, ब्यास र दुहूँ गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने जनाइएको छ ।
सेवाग्राहीले सेवा लिन आउँदा स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्नुपर्ने जनाइएको छ । मास्क, स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न भनेको छ । सेवाग्राही कार्यालय भित्र पसेपछि कार्यालयले तोकेको ठाउँमा बस्नु पर्ने तथा कम्तीमा पनि दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने जनाइएको छ ।