काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्म विपरित भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने निर्णयप्रति थापाले आपत्ति जनाएका हुन् ।
मंगलबार साँझ सामाजिक संजालमार्फत थापाले भनेका छन्, ‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।’
थापाले राष्ट्रपतिको कदमप्रति असहमति जनाउँदै लेखेका छन्, राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो । अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’
मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले पहिले जारी गरेको तर सांसदबाट पास नभएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधनसहितका विभिन्न ७ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मङ्गलवार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् ।