arrow

‘निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै..’ बजारमा नआउँदै अस्ताए प्रेमध्वज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
premdhij.jpg
प्रेमध्वज प्रधान । (फाइल तस्विर)

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८४ वर्ष पुगिसक्दा पनि गायनमा सक्रिय प्रधानको छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पताल भर्ना गरिएकोमा बिहीबार दिउँसो निधन भएको हो । 

परिवारका सदस्यले भने, ‘अचानक मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको दिउँसो साढे १ बजे निधन भएको हो ।’ वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआऊ है’, ‘तिमीलाई अचेल कहाँ देखूँ’, ‘पर लैजाऊ फूलहरू’लगायत गीत दर्शक श्रोताले अधिक रुचाएका गीत हुन् ।

पछिल्लो समय पहिला जस्तो स्टुडियो धाइराख्न नसके पनि केही महिनाको अन्तरालमा नयाँ गीत रेकर्ड गर्न स्टुडियो छिर्थे, प्रधान । यही वैशाख अर्थात् अंग्रेजी महिना अप्रिलमा मात्रै उनले एउटा गीत रेकर्ड गराएका थिए । 

स्वर भरेको गीत बजारमा नआउँदै प्रधानको निधन भएको छ । कस्तो संयोग ? उनले अन्तिम गीत नै यस्तो गाए, साँच्चिकै बल्दा बल्दैको दियो निभ्यो । प्रधानले नाटक निर्देशक तथा लेखक पुरु लम्सालको, ‘रोकिन नि सक्छ मुटु सास चल्दा चल्दै, निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै...’ बोलको गीतमा स्वर भरेका थिए । त्यही गीत उनको जिन्दगीको अन्तिम गीत बन्यो । 

प्रधान झण्डै ८ महिनापछि यो गीत गाउन स्टुडियो छिरेका थिए । गीतको रेकर्डिङ सकिएर भिडियो, मिक्सिङ बाँकी रहेको सुनाएका थिए, प्रधानले केही दिन अघि लेखक लम्साललाई । 

गीतको रेकर्डिङ डेट–फ्राइडे अप्रिल ९, स्टुडियोको नामः वेब स्टुडियो नेपाल । गीत रेकर्ड गर्दा प्रधानले लम्साललाई भनेका थिए, ‘पैसाको लागि भन्दा पनि सकुन्जेल गाइनै राखूँ भनेर फाट् फुट् गाइराख्छु । मेरो अन्तिम गीत भनेको यही नै हो ।’ नभन्दै प्रधानले भनेकै जस्तो भयो, उनी अस्ताए । 

लम्सालको गीतअघि प्रधानले डा. दुर्गा बहादुर सुवेदीको ‘कहिले उत्सव जस्तो कहिले उमङ्ग जस्तो मेरो जिन्दगी’ गाएका थिए । स्वर पनि आफै भरे, अनि कम्पोज पनि प्रधान आफैले गरे ।  

प्रधानको निधन सुनेर असाध्य दुःखी लेखक लम्सालले भने, ‘सायद मैले नलेख्नु पर्ने र दाइले नगाउनु पर्ने गीत रहेछ । साह्रै नरमाइलो लाग्यो ।’ यद्यपि, जीवनको उत्तरार्धमा प्रधानले अन्तिम गीत आफ्नो गाउनुमा लम्साल आफूलाई भाग्यमानी ठान्छन् । प्रधान र लम्सालको यो गीति भेट केही वर्षअघि भएको एउटा अवार्ड कार्यक्रमले गराएको थियो । 
 



लोकप्रिय समाचार
नयाँ