काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले संवेदनशील विषयमा राज्यको न्याय प्रशासन गम्भीर नभएको भन्दै आपत्ति प्रकट गरेकी छिन् । उनले न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु सरह भएको बताएकी छन् ।
सामाजिक संजालमा आफ्नो आक्रोस व्यक्त गर्दै उनले आफ्नै ससुराबाट यौन उत्पीडन व्यहोरेर मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएको घटनाले समाजको विकृत पक्षलाई उजागर गरेको भन्दै यो देशमा न्याय मरिसकेकै हो ? भन्ने प्रश्न गरिन् ।
‘न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रदैनन् ? यस्तो कारूणीक घटनालाई मसला बनाएर यूट्युबहरु संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन् । राज्यको न्याय प्रशासनभन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो । अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिनको होडबाजी छ ।’
संवेदनशील घटनालाई मजाकको विषय नबनाउन र सबै मिलेर राज्यलाई दबाब दिन आग्रह गर्दै उनले अगाडि लेख्छिन्, ‘व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ । यूट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पीडा होला ख्याल गरौं ।’