काठमाडौं । सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका गायक रामकृष्ण ढकालले कोरोना संक्रमितको उपचारका लागि १८ लाख रुपैयाँ संकलन गरेर नेपाल पठाएका छन् ।
गायक ढकालले उक्त रकम नेपाली वैज्ञानिक महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरिएको जानकारी गराएका छन् ।
सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका ढकालले कोरोनाका कारण उतै रोकिएका थिए । त्यसक्रममा उनले नेपाली भाषी भुटानीहरुसँगको समन्वयमा उक्त रकम जुटाएको सामाजिक संजालमार्फत जनाएका छन् ।
नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिण्डरको अभावमा हजारौंको ज्यान गइरहेको अवस्थामा आफूले अभियान संचालन गरेर रकम जुटाएको जनाएका छन् ।
ढकालले लेखेका छन् –‘हामी सबै नेपालीको जन्मभूमी नेपालमा कोरोना महामारीको कहर मच्चिँदा अक्सिजन सिलिण्डरको अभावमा हजारौको ज्यान गइरहेको तीतो यथार्थ हामी सबैको सामु छर्लङ्गै छ । नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु ।’
‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो, गायक ढकालले लेखेका छन्–‘उहाँहरू नेपालमा कोरोनासँग जीवन/मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता/दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ ।’
‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ’, गायक ढकालले लेखेका छन्–‘त्यसक्रममा पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ अमेरिकी डलर अर्थात करिब १८ लाख नेपाली रुपैयाँ अहिलेको विषम परिस्थितिमा पनि निस्वार्थ भावले नेपाली जनजनको सेवा गरिरहनु भएका आदरणीय वैज्ञानिक अभियन्ता श्री महावीर पुनज्यूको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिएको व्यहोरा यहाँहरू सबैमा अवगत गराउन चाहन्छु ।’