काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेसँगै जारी गरिएको निषेधाज्ञाका कारण जनजीवन प्रभावित बनेको छ । अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको छ । यस्तो विपतको समयमा केही नेपाली कलाकारहरुले उदारता देखाएका छन् ।
भोकाहरुलाई खाना खुवाउनेदेखि विरामीलाई अक्सिजन उपलब्ध गराउनेसम्मका मनकारी कामहरु कलाकारहरुले शुरु गरेका छन् । दैनिक अभिनयमा व्यस्त हुने स्वास्थ्य सुरक्षाका लागि घरमै बसेका छन् । घरमै रहेका बेला पनि कलाकारहरुले सामाजिक संजालमार्फत सन्देशमुलक सामाग्रीहरु पोष्ट गरेर चेतना जगाउने काम गरिरहेका छन् ।
संक्रमणको जोखिम उच्च बढीरहेको र निषेधाज्ञाका कारण सर्वसाधारणलाई हातमुख जोर्न धौ धौ भएको खबरहरु आएपछि केही कलाकारहरु सडकमै उत्रिएर सेवाभावले काम गरिरहेका छन् ।
चर्चित अभिनेता पल शाहले अक्सिजन सहितको फोटो सामाजिक संजालमा शेयर गर्दै आफू निरन्तर अक्सिजन सिलिन्डर जुटाइरहेको जानकारी दिएका छन् । उनले हाम्रो टीम नेपाललाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् । उनले लेखेका छन्, ‘अक्सिजन सिलिन्डरको लागि हामी निरन्तर सेवामा छौं । आजको यो कार्य सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद साथै मेरो साथी दुर्गेश थापा, अर्बिन पोमु लिम्बु, दमन न्यौपाने, जुरी ठाकुर, सागर भुसाल दाई (पोखरा), प्रदिप थापा दाई (दुलेगौडा) त्यसै गरी हाम्रो टिम नेपालका बिमल पन्तजी र सम्पूर्ण हाम्रो टिम नेपालका सदस्यहरुलाई मुरी मुरी धन्यबाद ।’
कलाकार तथा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले एउटा समूह नै खडा गरेर एम्बुलेन्स सेवा शुरु गरेको जानकारी दिएका छन् । लामाले सामाजिक संजालहरुमा लेखेका छन्, ‘काठमाडौं उपत्यकामा २४ घण्टा नै निशुल्क कोभिड एम्बुलेन्स सेवा सुरु । यि महान मनकारी पात्रहरुलाई हार्दिक नमन तथा उच्च सम्मान छ । हामीले काठमाडौं उपत्यकामा २४ सै घण्टा निशुःल्क कोभिड एम्बुलेन्स सेवा (साथमा अक्सिजन) सहित संचालन गरेका छौं ।
सम्पर्क नम्बरः ९८५१२७७३४२, ९८५१२३९३४२, ९८५१३१२४१७ । कृपया जस्को निजी सवारी साधन छैन, जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला । यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद दिंदै लामाले कलाकारहरु निखिल उप्रेती, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतका सेवीहरुको नाम उल्लेख गरेका छन् ।
नेपाल बन्द, लकडाउनमा समेत सडकमै उत्रिएर सेवामा समर्पित रहने अभिनेत्री तथा निर्देशक रेखा थापा भने सडकमा रहेका भोका जनावरहरुलाई खानेकुरा खुवाएर सेवा गरिरहेकी छन् । उनले स्नेहा केयर नामक गैरसरकारी संस्थाको पहलमा सहयोग गरेकी हुन् ।
रेखाले सहयोग गर्दै गरेको तस्वीर शेयर गर्दै स्नेहा केयरको फेसबुक पेजमा लेखिएको छ, ‘हामीले काठमाडौंका विभिन्न स्थानमा रहेका जनावरहरुलाई खाना उपलब्ध गराएका छौं । चर्चित अभिनेत्री रेखा थापा यो कार्यक्रममा हामीसँग जोडिनुभएको छ । राम्रो कामको लागि सहकार्य गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं ।’
अभिनेत्री श्वेता खड्काले पनि सामाजिक सेवामा सक्रिय छन् । उनले राहतको लागि हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेको जनाएकी छन् । श्वेताले लेखेकी छन्, ‘हाम्रो टिम नेपालाले संचालन गरिरहेको निःशुल्क खाना वितरण तथा कोभिड संक्रमितहरुको लागी अक्सिजन ब्यवस्थापन अभियानमा हात्तेमालो गर्न पाउँदा खुशीको अनुभुती मिलिरहेकोछ ।
कोरोना भाइरसका कारण सृजित लकडाउनको अवधीमा ‘कसैले पनि भोकै बस्न नपरोस् र अक्सिजनको कमीका कारण कसैले मृत्युवरण गर्न नपरोस्’ भन्ने मानविय सोचका साथ संचालित यो अभियानमा जोडिन मौका दिने आदरणीय समाजसेवी ईशा गुरुङ दिज्यु र हाम्रो टिम नेपालप्रती हार्दिक आभार ब्यक्त गर्दछु । ‘भौतिक दुरी कायम गर्दै आत्मिय दुरीलाई मजबुद बनाऔं, मानविय सहयोगको यो अभियानमा आफ्नो सहभागिता जनाऔं’ ।