काठमाडौं । नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए ।
तर कोरोना महामारीका कारण फिल्म रिलिज भएन् । अब फिल्म युट्युबमा रिलिज हुन लागेको हो । भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने तयारी भइरहेको निर्देशक चाम्सले बताएका छन् । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि फिल्म मनपराउनेमा उनी आशावादी छन्
उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।
बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ । फिल्म नेपालका सिनेमा हलसँगै यूट्युबमा सार्वजनिक भइसकेको छ ।