काठमाडौं । नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडी सो मार्फत विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ ।
आफ्नै शैलीमा हाँस्य-व्यङग्यको लयलाई भित्राएर नेपाली युवापुस्ता माझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले २० बैशाख मे ३, २०२१ का दिन विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको थियो । सो समूहका दुई कलाकारले ५,६४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका हुन् ।
‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कालापत्थरमा स्ट्याडअप कमेडी आयोजना गरेको प्रालिका निर्देशक सन्तोष देवकोटाले जानकारी दिए ।
‘वल्र्ड रेकर्ड कायम गरेको अफिसियल अनाउन्समेन्ट भएको छ, कोरोना महामारीका कारण प्रमाणपत्र पठाउन केही समय लाग्ने जानकारी आएको छ,’ निर्देशक देवकोटाले भने । सो क्रममा विश्व किर्तिमान राख्नका लागि समूहका संस्थापक कमेडी कलाकार उमेशकुमार गौतम (यूकेजी)र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले आफ्नो कमेडी कला प्रस्तुत गरेका थिए ।
कार्यक्रमका लागि उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामाग्री समेटिएको तीस(तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरेको नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले जानकारी दिए ।
यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका थिए । नेपग्याजमको यो नयाँ रेकर्डसँगै पाउलोले कायम गरेको रेकर्ड तोडिएको छ ।
विश्वकिर्तिमान कायम भएको सुनाउँदै कलाकार यूकेजीले भने ‘हामी उत्साहित भएका छौं, यो नेपालकै लागि गौरवको कुरा हो, नेपालले पनि कमेडीमा आफूलाई विश्वस्तरमा उचाल्दैछ भन्ने सन्देश यो कार्यक्रममामर्फत गएको छ ।’ अर्का कलाकार त्रितालले नेपाली हास्य व्यग्यको स्तर अन्तराष्ट्रिय मनोरञ्जन बजारमा पुर्यायाउनलाई वल्र्ड रेकर्डले झनै मद्दत पुग्ने बताए ।
कार्यक्रमका लागि कोरोना महामारीकाबीच आठ जनाको टोली कालापत्थर पुगेको नेपग्याजमले जनाएको छ । नेपालको कलाकौशल विश्वस्तरमा फैलाउनु नै आफ्नो समूहको चाहना भएको र यसले मनोबल थप बढाएको नेपग्याजमले भनेको छ ।
सो कार्यक्रमका लागि कलाकारसहितको नेपग्याजम समूहलाई सिम्रिक एयरको हेलिकप्टरले कालापत्थर लगेको थियो । जमिनको सर्वाधिक उचाईमा स्ट्याण्डअप कमेडी शो गरी विश्व किर्तिमान कायम गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।