‘१०औं नेफ्टा अवार्ड २०७७’को उत्कृष्ट मनोनयन सार्वजनिक
प्रकाशित २०७७ फागुन २ आइतबार
147
Shares
काठमाडौं । ‘एल आइसी १०औं नेफ्टा अवार्ड २०७७’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।
राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रम दुई चरणमा सञ्चालन भयो । उद्घाटन सत्रमा प्रमुख अतिथी नेपाली कांग्रेसका प्रवक्ता केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, पुर्व अध्यक्ष राजकुमार राई, नेफ्टा पुर्व अध्यक्ष मनोज केसी लगायत विभिन्न चलचित्रकर्मीहरुले अवार्ड सफलताको कामना गर्दै आफ्नो मन्तव्य राखे । कांग्रेस प्रवक्ता शर्माले दुरदराजमा लुकिरहेका नागरिकहरुको कथालाई फिल्मको माध्यमबाट बाहिर ल्याउन फिल्मकर्मीहरुलाई सुझाव दिए ।
‘उड्दै गरेको जवाज होइन, त्यो जहाजले उड्दै गर्दा छोडेको माटोको पीडा पर्दामा ल्याउनुपर्छ’, प्रवक्ता शर्माले भने, ‘फिल्म समाजको ऐना हो, सरकारले नदेखेका, नखोजेका कथा फिल्मले समेट्नसक्छ ।’ कार्यक्रमका नेफ्टा अध्यक्ष पुष्कर लामाले कोरोनाबीच थलिएको फिल्म उधोगलाई चलायमान गराउन नेफ्टा अवार्ड कोशेढुङ्गा साबित हुने विश्वास पोखे ।
कार्यक्रमको दोश्रो चरणका विभिन्न ३१ विधामा प्रतिस्पर्धामा परेका फिल्म तथा फिल्मकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरियो । जस अन्तर्गत १० औं नेफ्टा अवार्डमा सर्वाधिक १३ विधामा फिल्म ‘प्रसाद’मनोनयनमा परेको छ । यस्तै फिल्म ‘ए मेरो हजुर ३’ ११ र ‘छक्का पञ्जा ३’ १० विधामा मनोनयनमा परेको छ ।
यहि फागुन २९ गते प्रदान गरिने अवार्डको उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’ ‘रोमियो एण्ड मुना’ ‘हरी’ ‘कथा माठमाडौं’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा ‘प्रसाद’बाट दिनेश राउत, ‘रोमियो एण्ड मुना’बाट नरेशकुमार केशी, ‘रामकहानी’बाट सुदर्शन थापा, ‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौंला र ‘ए मेरो हजुर ३’ बाट झरना थापा प्रतिस्पर्धामा छन् ।
उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की ‘प्रसादु’ विनय श्रेष्ठ ‘रोमियो एण्ड मुना’, विपिन कार्की ‘हरी’, खगेन्द्र लामिछाने ‘डमरूको डण्डिबियो’ र अनमोल केसी ‘ए मेरो हजुर ३’ प्रतिस्पर्धामा रहँदा उत्कृष्ट अभिनेत्रीतर्फ ‘प्रसाद’बाट नम्रता श्रेष्ठ, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ, ‘साइँली’बाट मेनुका प्रधान, ‘रामकहानी’बाट पूजा शर्मा र ‘छक्का पञ्जा ३’ बाट दीपिका प्रसाइँ प्रतिस्पर्धामा छानिएका छन् ।
चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ । नेफ्टा र ड्रिम हाइ नेपालको तर्फबाट आयोजना हुन लागेको अवार्डमा इभेन्ट व्यवस्थापनको काम फेम नेपालले गरेको छ ।
एलआइसी नेपालले टाइटल स्पोन्सर गरेको अवार्डमा प्रायोजना जोडिएका तथा अन्य सबै साथ र सहयोगी मनहरुलाई ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले धन्यवाद व्यक्त गर्दै निरन्तर सहयात्राको अपेक्षा राखे ।